
२० पुष , काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका लालकृष्ण मिश्रले ३ वर्षदेखि आफू नगरपालिका कार्यालयबाट पीडित भएको गुनासो गरेका छन् । २०७६ सालमा सडक विस्तारका नाममा गोकर्णको रुप्सेटारस्थित सडक छेउमा रहेको आफ्नो घरजग्गा मिचेर जबरजस्ती बाटो बनाएको र त्यसविरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्दा अझै सुनुवाई नभएको उनले बताए ।
नगरपालिकाको वडा १ को कारखाना भन्ने स्थानबाट बागमती नदी जाने बाटोमा २०७६ जेठ २१ गते उपभोक्ता समितिले एक पक्षीय रुपमा आफ्नो घरतर्फको जग्गा च्यापेर सडक बढाएको मिश्रको भनाइ छ ।
उनले भने, ‘नगरपालिकाको न्यायिक समितिमा यसबारे २०७६ साउनमा दर्ता गरेको उजुरीमाथि अझै कुनै कारबाही भएको छैन ।’ न्यायिक समितिले कुनै पनि उजुरीलाई तीन महिनामा किनारा लगाउनुपर्ने कानूनी व्यवस्था रहे पनि तीन वर्षसम्म आफूलाई अल्झाएर राखिएको उनको भनाइ छ ।
नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक शान्ति नेपालले मिश्रको उजुरीमाथि काम भएको दाबी गर्दै त्यसबारे कार्यालयमा आएर जानकारी लिन भनिन् ।
नगरपालिकाले सूचना लुकायो
सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ कति बिस्तार गरिएको हो भन्ने विषयमा मिश्रले २०७६ जेठदेखि नगरपालिकासँग सूचना माग गर्दा अझै पूरा सूचना नपाएको गुनासो गरे । राष्ट्रिय सूचना आयोगले गोकर्णेश्वर नगरपालिकालाई पटकपटक पूरा सूचना दिनू भनी आदेश गर्दा पनि सूचना पाउन नसकेको पीडितको गुनासो छ ।
उनले भने, ‘हाम्रो जग्गामात्र पर्ने गरी बाटो बढाउने काम भएपछि हामीले गोकर्णेश्वर नगरपालिकाका सूचना अधिकारी र कार्यालय प्रमुखसँग सूचना माग गर्दा कुनै जवाफ पाइएन । सूचना आयोगमा पुनरावेदन गरेपछिमात्र अपुरो सूचना पाइयो । नगरपालिकाले सुरुदेखि नै सूचना लुकाउन खोजिरहेको छ ।’
आफ्नो जग्गासँग जोडिएका पाँचवटा कित्तामध्ये कुन कुन कित्ताबाट सडकका लागि कति कति जग्गा लिइएको हो भन्ने सूचना अझै नगरपालिकाले लुकाइरहेको उनको भनाइ छ ।
नगरप्रमुख सन्तोष चालिसेले समस्या समाधानका लागि नगरपालिका तयार रहेको बताए । उनले नगरपालिकाबाट नापी टोली गएर सो क्षेत्रको सडक नाप गर्ने र के भएको हो भन्ने स्पष्ट पार्ने जानकारी दिए ।



