३ असार , काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहीबार राती ११ बजे बर्सातको कारण गएको पहिरोले उद्योग अधिकारीको ३ तले घर र गोठ पुरिएर पुर्ण रुपमा क्षति हुँदा घरले किची अधिकारीको श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
साथै ३५ वर्षीय छोरा विष्णु अधिकारी घाइते भएका छन् । घटना स्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटिई उद्धार गरी घाइतेलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोसी अस्पताल विराटनगर पठाइएको छ । त्यसै गरी दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । थप उद्धार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको प्रहरीले बताएको छ ।





