८ असार , काठमाडौं । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट असार ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ बस्ने २५ बर्षिय अनुग्रह श्रेष्ठ छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालर्फ आउँदै गरेका निज श्रेष्ठलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम ९ वटा, एभिल २४ वटा, लुपिजेसिक ६ वटा र फेनेरागन ३ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले असार ७ गते विभिन्न किसिमको लागूऔषधसहित सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ बाट सोही जिल्लाको सखुवानानकट्टी गाउँपालिका १ बस्ने २८ बर्षिय शिवकुमार मण्डललाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले जाँच गर्दा निजको साथमा प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४२ वटा, डाईजेपाम ३७ वटा र डुप्रेनोर्फिन ३९ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ठाँडीमा बुझाइएको छ ।


