१३ भदौ , काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोसी– ५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो।
तामाङलाई ०७७ चैत ३० गते रामेछाप जिल्ला अदालतले डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद सजाय र ७० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो। अदालतको फैसलापछि तामाङ फरार रहँदै आएका थिए।
प्रहरीको खोजी सूचीमा रहेका तामाङ आइतबार सदरमुकाम मन्थली झरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। प्रक्राउ परेका तामाङलाई आज जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।







