काठमाण्डौं, उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने तथा ठूला आवाज भएका सवारीसाधनलाई कारबाही गर्ने तीव्रता दिएको छ । उपत्यका ट्राफिक प्रहरीले एक हप्ताको अवधिमा आवाज परिवर्तन गरेर मोटर साइकलचलाउने एक सय भन्दा बढीलाई कारबाही गरेको उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवंम प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताउनुभएको छ ।

एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याएको कारण कारबाहीलाई तीब्र रूपमा थालिएको बताए।

ट्राफिक प्रहरीले उपत्यका भित्र मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गरेको हो । त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिने तथा सर्बसाधारणमा अनावश्यक आवाजका कारण समस्या भएकाले रोक लागिएको बताए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गर्ने एसएसपी भट्टको भनाइ छ। 
मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन्। ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको एसएसपी भट्टले बताएका छन् ।
त्यसैगरी कतिपय मोटरसाइकल, कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन्। ती रेसिङ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन्। यद्यपि, त्यस्ता मोटरसाइकलहरु उपत्यकामा कुदाइने गरिएको छ। ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन्। विशेष गरि युवाहरुले मोटरसाइकलमा ठूलो आवाज बनाएर गुडाउने तथा मोटरसाइकलको स्वरुप परिवर्तन गरी चलाउने गरेका एसएसपी भट्टले बताएका छन् ।



