३२ साउन , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदासमेत सरकारले सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ । तर, प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रका उपाध्यक्ष भएका कारण कृष्णबहादुर महरा र उनका छोरामाथि अहिलेसम्म अनुसन्धान गरिएको छैन । महरालाई कारबाही गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा समेत कुरा उठेको थियो ।
साथै, चिनियाँ तस्करको सामान छोड्न महरा बाबुछोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पटक पटक फोन गरेर दबाब दिएको कुरा महराले स्वीकार गरिसकेका छन् । भ्रष्टाचार र तस्करीमा जोसुकैको संलग्नता भए पनि नछाड्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा प्रकरणमा किन खुट्टा कमाएका हुन् भन्ने प्रश्न माओवादीभित्रै उठेको छ । यस घटनाले माओवादी बदनाम त भएकै छ, गृहमन्त्री श्रेष्ठको नियतमाथि समेत प्रश्न उठेको छ ।
महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरनको नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको छ ।
सीआईबीले किटान गरेर प्रतिवेदनसमेत तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका छन् । त्यही बेला महराका छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको छ ।
राहुललाई सुन तस्कर दाओजिनले ६४ पटक र राहुलले दाओजिनलाई १३१ पटक उक्त सामान छुटाउन सम्पर्क गरेका छन् । हाल फरार अर्का चिनियाँ तस्कर असिनलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले अर्का फरार व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिएको छ ।
राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएको श्रेष्ठले प्रहरीलाई दिएको बयानमा बताएका थिए । तर, पनि महरा बाबुछोरा अझै अनुसन्धानको दायरामा आएका छैनन् ।
सिआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएको उल्लेख छ । ‘जफत भएको सामानका विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो रु कसरी हुन्छ रु भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ । सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,’ श्रेष्ठले सिआईबीसँग गरेको कागजमा उल्लेख छ ।
राहुलले पनि चिनेजानेको मानिस भएका कारण फोन गरेको तर, तिनको धन्दा के थियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । राहुलले टेलिफोन गरेर प्रक्रिया छिटो नभएपछि कृष्णबहादुर महरा स्वयंले पनि भन्सारका कर्मचारीलाई टेलिफोन गरेको तथ्य फेला परेको सिआईबी स्रोत बताउँछ । तर, महरा उपाध्यक्ष रहेको पार्टी माओवादीका अध्यक्ष एंवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरालाई जसरी पनि पार्टी राजनीतिमा स्थापित गराउने चाहनाले पनि अनुसन्धान नगर्न दबाब परेको स्रोत बताउँछ ।
‘धेरैखाले तारतम्य मिलाइयो भन्ने हामीले बुझेका छौँ । त्यसैका कारण प्रमाण भएर पनि अनुसन्धान हुन सकेको छैन,’ सिआईबीका एक अनुसन्धान अधिकृतले भने ।
सिआइबीको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित नै उल्लेख गरेको छ । भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको प्रमाण सिआईबीले जुटाएको छ ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट ९भेप० भित्र सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेका थिए ।
भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेको सिआईबीले पत्ता लगाएको छ ।
पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएपछि उनी सुन तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए ।
२०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट पठाएको थियो । आगो नसल्किने उक्त सिगरेटलाई पटकपटक स्क्यान गर्दा बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए ।
सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाइएको थियो ।
सीआईबीले दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले अनुसन्धान पूरा नगरी प्रतिवेदन बुझाएमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रतिवेदन नै फिर्ता पठाउन सक्छ । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन हेरेर महरा बाबुछोराको संलग्नताबारे प्रहरीलाई थप प्रमाण जुटाउन निर्देशन दिन सक्थ्यो । तर, राजनीतिक संरक्षणमा त्यो पनि हुन सकेन ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुुनमा पक्राउ परेका चिनियाँ नागरिकसँग पनि महरा र उपमहासचिव वर्षमान पुनसँग उठबस रहेका तस्बिरहरू सार्वजनिक भएका थिए । ती तस्बिरबारे माओवादी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रश्न उठाएपछि पुनले आफू अनुसन्धानका लागि तयार रहेको र छानबिनका लागि समिति बनाउन आग्रह गरेका थिए । तर, महरा यस सम्बन्धमा बैठकमा चुइक्कसम्म बोलेका थिएनन् ।
सुनकाण्डबारे चर्चा परिचर्चा भएपछि महराले प्रष्टिकरण दिएका थिए । त्यसमा पनि चिनियाँ व्यापारी सामान्य चिनजानको व्यक्ति भएकाले घटना के भएको हो भनेर चासो राखेको महरालेउल्लेख गरेका छन् । विभिन्न कोणबाट महरामाथि प्रश्न उठ्दासमेत सरकारले अनुसन्धानको दायरामा नल्याउनुले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतमाथि आशंका उब्जिएको छ ।



