१२ भदौ ,काठमाडौ । रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको उनको गुनासो छ ।
‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’, उनको निवेदनमा भनिएको छ ।
‘म पहिले पहिले बिहान बेलुका दुई चार घण्टा लाइभमा बस्ने गर्थेँ । तर, अब बस्दिनँ’, उनले नेपाल प्रेससँग भने । आफूले टिकटक लाइभबाट कसरी पैसा कमाउने भनेर मेसो पनि नपाएको उनको दाबी छ ।
टिकटकमा धेरै गालीगलौज आएर बन्द गराउन माग गर्नुभएको हो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरो व्यक्तिगत कुरा होइन । मैले देश र समाजका लागि भनेको हो । यदि सञ्चार मन्त्रालयले गरेन भने सर्वोच्च पनि जानेछु ।’
टिकटकबाट अश्लिल गालीगलौज, वेश्यावृत्ति, सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनले बताएका छन् ।




