२० जेठ , काठमाडौ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध नेपालले सहज जित हासिल गरेको छ ।


कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे । यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए । त्यसपछि खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।