
२५ जेठ , काठमाडौ । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा किरिया बसेका आमासहित दुई छोरा घाइते भएका छन् ।

सोमबार बेलुकी ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७२ वर्षीया चनमाया तथा छोराहरू ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

पिता भगीरथ सापकोटाको सोमबार अन्त्येष्टि गरी किरिया बसेका उनीहरूले पानी तताउन ग्यास बालेका थिए । बेलुका ८स्४० बजेतिर भुइँमा ओछ्याइएको परालमा सल्किएको र त्यसलाई निभाउने क्रममा उनीहरू घाइते भएको विश्वकर्माले जानकारी दिए । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि तीनै जनालाई झापाको मेची अञ्चल अस्पताल लगिएको छ ।



