५ असार, काठमाडौ । सल्यानको दार्मा गाउँपालिकामा खोला किनारामा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार दार्मा गाउँपालिका – ५ की ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाका अनुसार घटना शंकास्पद रहेको छ । घटनास्थल वरिपरि खिमाको मृत्यु खुल्ने त्यस्तो कुनै सूचना फेला परेको छैन ।

शव पोष्टमार्टम रिपोर्ट आइतबार आइपुग्ने हुँदा त्यसपछि खिमाको मृत्युबारे स्पष्ट भन्न सकिने डिएसपी थापाले बताए ।

प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी थिइन् । खिमाका श्रीमान् खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै घर आइपुगेका छन् । रोजगारीको सिलसिलामा खिमबहादुर झन्डै आठ महिनाअगाडि भारतको सिमला गएका थिए ।

खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।