३० आषाढ ,काठमाडौ । गृह मन्त्रालयले केपी ओली नेतृत्वको सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा रोकेको छ ।
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ । ओली नेतृत्वको असार २४ गते भएको मन्त्रिपरिषदको बैठकले एआईजीहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल, उनका ब्याची प्रद्युम्न कार्की, अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल र प्रशासन विभागका निरजबहादुर शाहीलाई सरूवा गरिएको थियो ।