१० फागुन , काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।
बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । ‘तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छौं, अहिले धमाधम काम भइरहेको छ’, उनले भने ।
केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताए । उनका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ ।
लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ ।
शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो ।
कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताए ।







