Comments Add Comment

Advertisment

SKIP THIS

फुङलिङमा फेरि आगलागी : एक जनाको मृत्यु

२७ फागुन , काठमाडौ । फुङलिङ नगरपालिका–४ कोप्चे टोल सुधार समितिले मंगलबार र बुधबार बेलुका सलाइ, लाइटरजस्ता प्रज्वलनशील वस्तु नानीबाबुले भेट्ने गरी नराख्न, ग्यास राम्ररी बन्द गर्न, आगो बालेको भए राम्ररी निभाउन भन्दै माइकिङ गरेको थियो तर यही टोलमा शुक्रबार बिहानै आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

ताप्लेजुङ प्रहरी कार्यालयका अनुसार रविन आङवोहाङको घरबाट सुरु भएको आगलागीमा परी मैवाखोला गाउँपालिका–३ ढुंगेसाँघु घर भई सदरमुकाम फुङलिङ बस्ने ६४ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको हो । उनी सदरमुकाममा पसल गर्ने छोरीज्वाइँसँग बस्थिन् ।

फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलका अनुसार आगो लाग्न थालेपछि घरबाट निस्किएकी उनी गरगहना लिन पसेकी थिइन् । सुरक्षाकर्मीले नजान भन्दाभन्दै भित्र गएकी उनी दमको रोगी भएकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्याकुरेलले बताए । घरभित्र सिलिन्डर पड्किन थालेपछि उद्धारकर्मीले निकालेर अस्पताल लगेका थिए । डाक्टर सोनिम लामाका अनुसार अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । आगो निभाउने क्रममा फुङलिङ–४ का वडाध्यक्ष जितेन लिम्बू घाइते भएका छन् । आगलागीबाट एक घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । डेरा गरी बस्ने सात परिवार विस्थापित भएको उद्योग वाणिज्य संघले जनाएको छ । जिल्ला प्रहरी निरीक्षक राकेश यादवका अनुसार खाना पकाउने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीबाट सबैभन्दा ठूलो क्षति २०६० चैत १५ को साँझ वीरेन्द्र चोकको भएको हो । त्यो बेला ४५ घर जल्दा ५१ करोड मूल्य बराबरको क्षति भएको थियो । २०७३ चैत ९ मा तोक्मे क्षेत्रको आगलागीमा ४४ घर जल्दा ४१ करोड रुपैयाँ बराबरको क्षति भयो । ०६८ सालमा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारको आगलागीमा ८ करोड ५० लाख र ५ करोड क्षति भएको उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बु बताउँछन् । यहाँको आगलागीबाट नौ र पाँच घर जलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment