३१ साउन , काठमाडौं । काठमाडौको तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थाही कर्मचारी हटाउन पत्रचार गरेको छ ।
नगरपालिकाले करार कर्मचारीलाई सम्बन्धित शाखा तथा कार्यालयले हाजिर गराएमा सम्बन्धित व्यक्तिले दाबी गर्ने तलब, पारिश्रमिक तथा अन्य सुविधा हाजिर गराउने व्यक्ति नै जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।
साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा.बि.स बाट नियुक्ती भएका स्वास्थ , शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारी भित्र नयाँ हलचल सुरु भएको छ ।
तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले केही समयअघि नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आएपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएका छन् । त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाए पनि नगरप्रशासन आफ्नो निर्णयमा पछि हटेको छैन ।
तारकेश्वरको यो निर्णयले करार सेवामा कार्यरत १०० भन्दा बढीको रोजगारी गुम्ने देखिन्छ । नगरपालिकाले भने व्ययभार बढेको भन्दै अब करार कर्मचारीलाई राख्न नसकिने बताएका छन् ।
कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि कांग्रेसकै नेता कार्यकर्ताबाट बिरोध सुरु भएको छ । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको एमाले तारकेश्वरको आरोप छ भने यसको बिरुदमा बिभिन्न संघर्षको कार्यक्रम गर्ने बताएको छ ।
हेर्नुहोस नगरपालिकाको सूचना








