२६ चैत , काठमाडौ । तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा दालेकी सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ६ आना जग्गा आर्थिक लेनदेनमा व्यक्तिको नाममा हस्तान्तरण गरिएको छ । नगरपालिकाको न्यायिक समितिले तारकेश्वर नगरपालिका–८ स्थित ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको नाममा पास गरेको हो ।

नगर प्रमुख (मेयर) कृष्णहरि महर्जनको रोहवरमा समिति प्रमुख तथा उपमेयर सिर्जना बुर्लाकोटी अर्यालको अध्यक्षतामा गत फागुन ३ गते बसेको बैठकले शैक्षिक गुठीको जग्गा श्रेष्ठको नाममा नामसारी गर्न सिफारिस गरेको थियो  । आर्थिक चलखेलका लागि गरिएको नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं।१२४४ को व्यक्तिगत जग्गा सरेर गुठीको कित्ता नं।२७१ र सम्पर्कमा नभएका व्यक्तिको कित्ता नं। ९९५ मा पुग्यो ।

यो कित्ताको २ आना जग्गा मिचिएर श्रेष्ठको नाममा पुगेको छ  । कित्ता नं।१२४३ को सार्वजनिक बाटोको क्षेत्रफल पनि नारायण कुमार श्रेष्ठको कित्ता नं।१२४४ मा समावेश गरेर उक्त बोटा बराबरको जग्गा पनि सार्वजनिक गुठीको जग्गाबाटै पुरताल गरियो ।

त्यस्तै, कित्ता नं. ९९५ को जग्गा डा।मोहम्मद सरिप साहको हो । सरिप साहको मृत्यु भइसकेको छ र निजका हकदार छोरा हाल अमेरिकामा छन् । नगपालिकाको निर्णयपछि साहको पनि जग्गा मिचिन पुग्यो ।

त्यस्तै, कित्ता नं.२७२ र २७३ को २ आना जग्गा सरेर कित्ता नं.२१८८ तर्फ पुग्यो, जुन जग्गा मधु सापकोटाको नाममा छ  । तर, नगरपालिकाले कित्ता नं. २१८८ को जग्गा कित्ताकाट गरेन ।

त्यसो हुँदा दालेकीले दुईतर्फबाट थप ४ आना जग्गा गुमायो । त्यस्तै, बाँकी दुई आनामध्ये एक आना गोरेटो बाटो र अर्को एक आना सडकमा मिसिन पुगेको छ  । चलनचल्तीको दरभाउअनुसार उक्त जग्गाको मूल्य हाल प्रतिआना ७० लाख पर्छ  ।

शिक्षा ऐन २०२८, को दफा १६ को उपदफा २ अनुसार शैक्षिक गुठीको स्वामित्वमा रहेको जग्गाको स्वरूप परिवर्तन गर्न पाइँदैन  । उक्त दफामा भनिएको छ, ‘शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहने छ  । कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन गरिएकामा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिने छ  । त्यस्तो सम्पत्तिको स्वरूप परिवर्तन गर्न पाइनेछैन ।’

विद्यालयको नाममा रहेको जग्गा सट्टापट्टा पनि गर्न नपाइने शिक्षा नियमावली २०५५ मा स्पष्ट छ  । सट्टापट्टा गर्नैपर्ने भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्छ  ।

नियमावलीको नियम १६१ को उपनियम २ मा भनिएको छ, ‘विद्यालयको कमाउन्ड वा खेलमैदानसँग जोडिएको जग्गासँग कुनै जग्गा सट्टापट्टा गर्नुपर्ने भएमा सामुदायिक विद्यालयको भए सम्पत्ति संरक्षण समिति, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा र संस्थागत विद्यालयको भए सम्बन्धित गुठियार वा कम्पनीका सञ्चालक, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई सट्टापट्टा गर्न सकिनेछ ।’ तर, दालेकी शैक्षिक गुठीको जग्गा सट्टापट्टा गरिँदा न व्यवस्थापन समितिको सिफारिस भएको छ, न त सम्बन्धित मन्त्रालयको नै स्वीकृति लिइएको छ  ।

दालेकी गुठीले उक्त जग्गामा नेपाल रत्न स्कुल चलाउँदै आएको छ  । विद्यालयमा अहिले चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गुठीले सबै विद्यार्थीलाई निस्शुल्क पढाउँदै आएको छ ।

उता, दालेकी गुठीका तत्कालिन अध्यक्ष कामी शेर्पाले उक्त जग्गा गुठीको मिलेमतोमा व्यक्तिको नाममा गएको भन्ने बारे आपत्ति जनाएका छन् । अध्यक्ष शेर्पाले आफूहरुले व्यक्तिको नाममा जग्गा दिने सहमति मालपोतमा सनाखत र हस्ताक्षर नगरेको बताउँदै भने, ‘त्यतिबेला दुई जनाको व्यक्तिगत झगडालाई मेलमिलापसम्म गरेको हो ।

मेलमिलाप गर्ने क्रममा गरेको सहीलाई दुरुपयोग गरी आर्थिक लेनदेनमा जोडेर सार्वजनिक गुठीको जग्गा र सार्वजनिक बाटो व्यक्तिलाई दिइएको भनेर हामीलाई आरोप लगाइयो । तर, त्यो सिफारिस हामीले गरेको होइन, नगरपालिकाले मात्रै गरेको हो ।’ उक्त आरोपको सत्यतथ्य छानबिन अख्तियार अर्थात सम्बन्धित निकायले छानबिन गरोस भन्ने अपेक्षा अध्यक्ष शेर्पाको रहेको छ । अध्यक्ष शेर्पालाई गुठी संस्थाले कारवाही गरि पदबाट हटाइसकेको र थप कारवाहीका लागि अख्तियारमा लेखि पठाएको छ ।

त्यसैगरी, दालेकी गुठीका तत्कालिन सल्लाहकार दिपक पुनले गत फागुन ३ गते शुक्रबार राति ९ बजे नगरपालिकाको कार्यालयमा मेयर र उपमेयरले बोलाएर जबरजस्ती हस्ताक्षर गराएकोले आफूले नगरपालिकाको सो कार्यविरुद्ध अख्तियारमा उजुरी दर्तासमेत गरेको जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष शेर्पाका स्वयम् भान्जा ५३ वर्षीय यम्टी लामाको प्रलोभनमा परि उक्त कार्य भएको हो । सल्लाहाकार पुनले हाल यम्टी लामा अमेरिका भागेको जनाएका छन् ।

उता, गुठीको जग्गा व्यक्तिको नाममा पठाउन निर्णय गर्ने नगरको न्यायिक समिति प्रमुख बुर्लाकोटीले भने यसबारे वेवास्ता गर्दै आएकी छिन् ।

हाल उक्त जग्गासम्बन्धमा नगरपालिकाको शंकास्पद कार्य देखिएपछि घटना सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि अख्तियारले मिलापत्रसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाएको छ  ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घटना शंकास्पद देखिएपछि अनुसन्धान थालिएको बताए  । उनले भने, ‘शैक्षिक गुठीको जग्गा कानुनविपरीत सट्टापट्टा गरिएको भन्दै उजुरी परेको छ  । यस सम्बन्धमा अख्तियारले अनुसन्धान सुरु गरेको छ  ।’

यस विषयमा सोही नगरपालिकाले २०७८ फागुन २२ गते तत्कालिन न्यायिक समितिले आफ्नो अधिकार क्षेत्र नभएकाले दुबै पक्षलाई कानुनी प्रक्रियामा अदालत जान रायसहित २०७९ असार २७ गते चलानी नम्बर ११७५९ पत्रमार्फत फैसलाको पूर्णपाठ दुबै पक्षलाई दिएको छ । सोही विषयवस्तुको उजुरी खडा गरी २०८० पुस १८ गते नगरपालिकामा दर्ता भएको र हतारहतारमा सोउपर २०८० फागुन ३ गते मेलमिलापको निर्णय गराइएको तथ्य रहेको छ ।

आफ्नै तत्कालिन न्यायिक समितिले अधिकार क्षेत्रभित्र नपर्ने भनि गरेको फैसला पुनस्अधिकार क्षेत्र पर्छ भनि गरेको निर्णयले आर्थिक लेनदेन र भ्रष्टाचार स्पष्ट देखिन्छ ।