२३ असोज , काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. ३ जितपुरफेदी बजारमा रहेको ऐतिहासिक गुम्बा अस्तित्वविहीन अवस्थामा फेला परेको छ । यद्यपि गुम्बाको अवशेषका रुपमा त्यहाँ केही प्राचीन ढुंगा र मुर्तिबाहेक अरु केही पनि देख्न सकिन्न ।
तारकेश्वर महादेव मन्दिरबाट बग्दै आउने महादेव खोलाको दायाँ किनारामा फेदीबजारको पछाडिपट्टि रहेको यो गुम्बा जितपुरफेदी बजारको कुनैबेला आकर्षकको केन्द्र रहेको स्थानीय बताउँछन् । स्थानीय ९१ वर्षीया सुवर्णलक्ष्मी श्रेष्ठ ५० को दशकसम्म बौद्ध भिक्षुहरू गुम्बामा आएर प्राथना गर्ने गरेको बताउनुहुन्छ ।
गुम्बाको पूर्वपट्टि महादेव खोलामा जाने प्राचीन ढुंगा छापेर बनाइएको सिँढी अहिलेपनि देख्न सकिन्छ भने खोलाको किनारमा विष्णु भगवानसहितको ब्रह्मनाल रहेको छ । तर स्थानीयहरुले बालुवा झिकेर थुपारेका कारण उक्त महत्वपूर्ण मूर्ति पुरिएको अवस्थामा रहेको छ ।
स्थानीयहरु उक्त ठाउँमा पहिले ऐतिहासिक गुम्बा भएको हुँदा यस ठाउँमा गुम्बा नै निर्माण गर्नुपर्ने कुरा बताउँछन् । उनीहरुको चाहना छ, यस ठाउँमा गुम्बा नै बनोस् । ९१ वर्षिया सुर्वणलक्ष्मी श्रेष्ठ – यो गुम्वा निर्माणका लागि हाम्रा पुर्खाले जग्गादान दिएको हुँदा यस ठाउँमा भगवान बुद्धको मुर्तिसहितको गुम्वा निर्माण गरी संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुहुन्छ ।
विक्रम सम्वत् २०१५ सालपूर्व जितपुरफेदीको ज्यादै आकर्षक रहेको थियो । विगत सम्झँदै सुवर्णलक्ष्मी भन्नुहुन्छ यो नुवाकोट, धादिङ, लमजुङ, गोरखा, पोखरा र बाग्लुङसहित पश्चिम नेपालको व्यापारिक मार्ग पनि हो । त्यतिबेला आवतजावत गर्ने मानिसको घुँइचो लाग्ने यो बजार अहिले सुनसान छ । हिजोको त्यौ रौनक र आजको सुनसान देख्दा सपना हो जस्तो लाग्दछ ।
तारकेश्वरका लेखक साहित्यकार तथा संस्कृतिविद् देवेन्द्र अर्याल ‘आँसु’ यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकारले विशेष रुपमा कदम चाल्नुपर्ने कुरा बताउँछन् । यस्ता सम्पदा हाम्रा पहिचान हुन् भने यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो । त्यस्तै तारकेश्वरमा रहेका लिच्छविकालीन एवम् मल्लकालीन सम्पदाको संरक्षणमा विशेष योजनासहित नगरपालिकाले कदम चाल्नुपर्ने देखिन्छ । कला साहित्य संस्कृतिबाट आफ्नो अपनत्व, पहिचान र अधिकारसमेत झल्कने हुँदा त्यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने कुरा अर्याल बताउनुहुन्छ ।



