११ फागुन , काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान पाउनेपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित बिहीबार उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।
आफ्ना कानुन व्यवसायी सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगेका सन्दीपले निवेदनमा विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गरेका छन् । गत २८ पुसमा उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपनि विदेश जान प्रतिबन्ध लगाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टीम यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् ।
क्यानले सन्दीपको ठाउँमा मौसम ढकाललाई टीममा समावेश गरेको छ । उनको रिटमा शुक्रबार नै सुनुवाइ हुने सम्भावना छ । यदि सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जानेछन् ।
यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताएका छन् । नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २-२ खेल खेल्नेछ । आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि शुक्रबार सर्वोच्चले उच्च अदालतको फैसला उल्टाएर प्रतिवन्ध हटाएको खण्डमा टीममा समावेश गर्न सकिने बताएका छन् । सन्दीप नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य र प्रमुख बलर हुन् । उनको उत्कृष्ट प्रदर्शनको बलमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो ।






