२७ फागुन , काठमाडौ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव आफ्नो पार्टीका सांसद रामसहाय प्रसाद यादवलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने तर्खरमा छन् ।
तर, निर्वाचन आयोगले उपराष्ट्रपतिमा फरक लिङ्गको हुनुपर्ने भन्दै सोहि बमोजिम निर्देशन नै दिएको छ । आयोगले महिलालाई नै उम्मेदवार बनाउन निर्वाचन अधिकृतलाई निर्देशन नै दिएको बताएपछि सत्ता गठबन्धनमा अन्यौलता देखिनुका साथै जसपा अध्यक्ष यादवको संसद छिर्ने बाटोमा समेत समस्या सिर्जना हुने देखिन्छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव गएको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजीत भएपछि उनको संसदीय यात्रामा ब्रेक लाग्यो ।
त्यसपछि उनी निरन्तर संसद छिर्ने बाटो खोज्न थालेका छन् । आफू निकटका सांसद रामसहाय यादवलाई उपराष्ट्रपति निर्वाचित गराएर उपचुनावमार्फत संसद छिर्ने तयारीमा रहेका उनले उपराष्ट्रपति जसपाले पाउने र रामसहाय नै उम्मेदवार बन्ने दाबी गरेका छन् । तर, निर्वाचन आयोगले महिला र खस आर्य भन्दा फरक जातको महिला उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने बताएपछि गठबन्धनमा अन्यौलता सिर्जना भएको जस्तो बने देखिएको छ ।
साथै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई नै उपराष्ट्रपति दिने भनि कुनै सहमति समेत नभएको बताएका छन् ।
यता, नेकपा माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक रुपले फरक हुनुपर्ने बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताएका छन् ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले नै उपराष्ट्रपतिबारे अन्यौलताका विषय उठाएपछि उपेन्द्र थप बिलखबन्दमा परेका छन् । उपेन्द्रकै पार्टीले उपराष्ट्रपति पाएपनि प्रत्यक्षतर्फ महिला उम्मेदवार निर्वाचित नभएकाले उनी सांसद बन्न सक्ने सम्भावना छैन ।
समानुपातिकतर्फबाट महिला उम्मेदवार पठाएपनि उपेन्द्रको नाम समानुपातिक सूचीमा समावेश नभएकाले उनी समानुपातिकतर्फबाट सांसद हुन योग्य छैनन् ।
यसरी उपचुनावबाट संसद छिर्ने योजनामा रहेका उपेन्द्रलाई गठबन्धन नै असहज हुने त होइन रु यस्तोमा उपेन्द्रलाई उपचुनाव र संसदीय यात्रा थप कठिन बन्ने स्थिति बन्दै गएको छ ।



