२७ असोज , काठमाडौ । कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो ।
गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षको सांसदहरूबाट सनाखत गराउने निर्णय लिएका थिए ।
आफैँले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् । बिहान ८ बजेदेखि नै सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सनाखतका लागि भेला भएका छन् । शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखतको समय छुट्याइएको छ ।
कांग्रेसका ४ देखि ५ जना सांसद भने सनाखत नगर्ने तयारीमा रहेको बुझिएको छ । केही सांसद पूर्विनर्धारित कार्यक्रमका लागि भनेर बाटो लागेका छन् । एक सांसदले नेपाल प्रेससँग भने, ’खासगरी विद्रोह गर्नुभएका ८ जनाको कुरा हो । उहाँहरुको सनाखत चाहिएको हो । हाम्रो त के आवश्यक छ र ।’
कोशीमा गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका केदार कार्कीले एमालेसँगको समीकरणमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका छन् । उनको पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन् । आङ्बोले पनि ४७ सांसदकै हस्ताक्षर गरी बुझाएकोमा पुरानो हस्ताक्षर कीर्ते गरी बुझाएको भन्दै कार्कीसहित ८ जना सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भएका थिए ।
केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्डसमेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा।शेखर कोइरालाले मानेका थिएनन् ।
केन्द्रबाटै गठबन्धनका नेताहरुले शनिबार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई आजको रात टार्न दबाब दिइएको स्रोतले जनाएको छ । त्यसपछि उनले गठबन्धनलाई पर्याप्त समय पुग्नेगरी दिउँसो २ बजेसम्मको समय दिएर सूचना टाँसेका हुन् ।


