Comments Add Comment

Advertisment

SKIP THIS

पेचिलो बन्दै मन्त्रीपरिषद् विस्तार, अर्थ र गृहमा कांग्रेस-माओवादी दुवैकाे दावी

१२ चैत , काठमाडौ । सत्ता साझेदार दलहरुमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार पेचिलो बन्दै गएको छ । दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको भनिएपनि अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो नलाग्दा उक्त विषय पेचिलो बन्दै गएको हो ।

सत्ता साझेदार दलहरूमध्ये ठुलो दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसको हिजो (शनिबार) बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ भएको थियो । जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।

सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए । खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए ।

संसदको सबैभन्दा ठूलो पार्टी भएका कारण अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा कांग्रेसको दाबी रहने पदाधिकारी बैठकमा ब्रिफिङ भएको एक नेताले बताए । ८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको उनले बताए ।

गठबन्धनमा रहेको ११ दल मिदाउने दवावमा रहेका प्रधानमन्त्री दाहालले कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ।

खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए । कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारीसमेत गरेको छ ।

कांग्रेसले मन्त्री छान्दा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बनाएको मापदण्ड अनुसार योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने बताएको छ । सात प्रदेशबाट एक(एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने कांग्रेसको तयारी छ ।

चैत ६ गते ११ दलको समर्थनमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले दुईरतीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने बताएका थिए । पुरानो गठबन्धन भत्किएसंगै १६ मन्त्रालय आफैंले हेर्दै आएका दाहालले गृह मन्त्रालय आफैंसँग राख्न खोजेका छन् । कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पनि गृह आफूहरूलाई चाहिने दाबी गरेको स्रोत बताउँछ। दाहालले गृहबाहेक मन्त्रालय दिने गरी रास्वपालाई पनि सरकारमा ल्याउन चाहेका छन् ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउने भनिएका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ । तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन ।

नेताहरुका अनुसार नेपाली कांग्रेसले ७ वटा र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ५ वटा मन्त्रालय, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई २र२ र अरुलाई १/१ मन्त्रालयमा सहमत गराउने प्रयास भइरहेको बालुवाटार निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिएका सबै दलसँग एक पटक भेटवार्ता गरेर मन्त्रालयबारे कुराकानी गरिसकेकोले अब सत्ता गठबन्धन बैठक राखेर मन्त्रालय प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्।

सरकार बिस्तार लगायतबारे माओवादी पदाधिकारी बैठकमा शनिबार छलफल भएको थियो । नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment