Comments Add Comment

Advertisment

SKIP THIS

सामुदायिक वनको काठ लोड गर्दागर्दै पक्राउ परेका इन्सपेक्टर बोहरालाई सफाइ

२० असार , काठमाडौ । विशेष अदालतले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार यस्तो फैसला गरेको हो ।

तीन वर्षअघि अवैध रुपले काठ लैजान लाग्दा इन्सपेक्टर बोहरालाई स्थानीयले काठसहित पक्राउ गरेका थिए । रातिको समयमा ट्याक्टरमा काठ लोड गर्दै गर्दा देखेपछि स्थानीयले इन्सपेक्टर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवै जनामाथि जनही ६१ हजार २० रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

इन्सपेक्टर बोहरालाई चारदेखि ६ महिना कैद सजाय तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १८ बमोजिम चार वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको सजाय माग भएको थियो ।

दफा १८ मा डर, त्रास वा अरु कुनै किसिमको गैरकानूनी दवाबबाट राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले कसैलाई भ्रष्टाचारजन्य कसुर गर्न लगाएमा सजाय हुने उल्लेख छ ।

प्रहरी निरीक्षक बोहराले सामुदायिक वनको सम्पत्ति बदनियतपूर्वक हानीनोक्सानी गरेको र सो कार्यलाई ढाकछोप गर्न वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको अख्तियारले अभियोगपत्रमा दाबी गरेको थियो ।

यसैगरी, वन उपभोक्ता समितिका अध्यक्ष साउदलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरिएको थियो । उनले इलाका प्रहरी कार्यालय विपीनगरलाई बिना छुटपुर्जी दिने निर्णय गरी समुदाय मातहतको सरकारी सम्पत्ति रहेको सार्वजनिक वनको सम्पत्ति हिनामिना गरेको र प्रहरी निरीक्षक बोहराको कसूर लुकाउन भूमिका खेलेको अभियोग लगाइएको थियो ।

यस मुद्दामा तीन वर्षपछि विशेषले फैसला दिएको हो । जसमा इन्स्पेक्टर बोहरा र वन उपभोक्ता समिति अध्यक्ष साउद दुवैले सफाई पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment