२१ जेठ , काठमाडौ । बायनान्स एपलाई माध्यम बनाएर ठगेको आरोपमा रोल्पाको माडी गाउँपालिका घर भएर कोटेश्वर बस्ने विज्ञान घर्तीमगर थुनामा छन् ।
१९ वर्षका घर्तीमगरले १२ कक्षासम्म पढेका छन् । पक्राउ गरेर अनुसन्धान गर्दा नेपालमा प्रतिबन्धित बायनान्स एप मार्फत किशोरले १ करोड ५५ लाखको कारोबार गरेको भेटिएको छ । करोडको कारोबार गरेको तथ्य भेटिए पनि अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘म घाटामा छु ।’
कारोबार गरेबापत बायनान्स एपले थोरै कमिसन पठाउने उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘म ६० हजार घाटामा छु ।’
सामाजिक संजाल फेसबुकमा ध्रुवराज गिरीको फेसबुक आईडीमा विमला श्रेष्ठले यस्तो पोस्ट देखिन्–‘२० हजार ट्रेडमा इन्भेष्ट गरे २४ घण्टामा २ लाख ७० हजार हुन्छ ।’ मज्जाले कमाउन सकिने पोस्ट देखेपछि श्रेष्ठले आईडी सञ्चालकसँग कुरा गरिन् ।
ध्रुवराजले उनलाई भने–‘इन्भेष्ट गर्दा फाइदा आएको रकम तपाईंको बैंक खातामा आउँछ तपाईंको बैंक खाता नम्बर दिनुस् ।’ खाता नम्बर लिएपछि आइडी सञ्चालकले अनलाइन लगानी गर्न विज्ञान घर्तीमगरको ई–सेवा आइडीमा २० हजार डिपोजिट गर्न आग्रह गरे । युजर सञ्चालकले भने अनुसार उनले ध्रुवराज र विशाल थापाको बैंक खातामा २ लाख ७० हजार डिपोजिट गरिन् । पैसा डिपोजिट गरे पनि भने अनुसार २४ घण्टामा आकर्षक कमाइ भएन ।