१३ पुष काठमाडौ । नेपाल प्रहरीका एक इन्सपेक्टरले एसपीलाई समेत गुमराहमा राखेर असुली धन्दा चलाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत इन्सपेक्टर भाष्कर चन्दले एसपी मनोज केसीलाई समेत थाहा नदिई जिल्लामा सेटिङ चलाएका छन् ।
उनले जिल्लाभित्रका विभिन्न प्रहरी चौकीहरूमा आफूनिकटका इन्चार्ज खटाएर असुलीधन्दा चलाइरहेका छन् । प्रहरी निरीक्षक चन्द जिल्ला प्रहरी कार्यालयमा प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने र कसलाई इन्चार्ज दिने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ ।
चन्दले आफूनिकटका असई र सईलाई पैसा कमाई हुने ‘मालदार’चौकीमा इन्चार्ज खटाउने गरेका छन् । उनले इन्चार्ज र हवल्दार तथा सिपाहीलाई चौकीमा खटाउँदा क्षेत्रीयताका आधारमा समेत पक्षपात गर्ने गरेको प्रहरी कर्मचारीहरू गुनासो गर्छन ।
चन्द सुदूरपश्चिमका हुन् । उनले सई तथा असईलाई चौकीमा इन्चार्ज खटाउँदा सुदूरपश्चिमकालाई प्राथमिकता दिने गरेका छन् । २०७७ चैतमा रुपन्देही आएका चन्दले त्यसयता तल्ला तहका प्रहरीको मनोबल गिर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सईले जानकारी दिए ।
‘उहाँले विभिन्न चौकीमा इन्चार्ज खटाएर पैसा खाने, आफ्ना भेगका पठाउने (सुदुरपश्चिम) गर्नुहुन्छ’, ती सईले भने, ‘पैसा असुलीधन्दा गर्नकै लागि उहाँले भेगीय र क्षेत्रीयता हेर्दा काम गर्ने प्रहरी कर्मचारीको मनोबल गिरेको छ ।’
प्रहरी निरीक्षक चन्दले प्रत्येक चौकीबाट २० देखि ३० हजार रुपैयाँसम्म मासिक रकम बुझ्ने गरेका छन् । उनले मैनहिया, पिप्रहवा र बगाहा प्रहरी चौकीमा आफू निकटका असई खटाएका छन् । उनीहरुमार्फत् चन्दले मासिक रकम असुल्ने गरेका छन् ।
मैनहिया, बगाहा, पिप्रहवा बढी मात्रामा भारतबाट नेपालतर्फ सामान तस्करी हुने क्षेत्र हुन् । यस्तै, प्रहरी निरीक्षक चन्दले मर्चवार, लुम्बिनी क्षेत्रबाट पनि मासिक रकम बुझ्ने गरेका छन् । रुपन्देहीका एसपी मनोज केसीले तस्करी शुन्यमा झार्ने अभियान चलाएका छन् । तर, मातहतका प्रहरी अधिकृत नै असुलीमा लागेपछि उनको अभियानमा ठेस लागेको छ ।
प्रहरी स्रोतका अनुसार एसपी केसीले तस्करीबाट अहिलेसम्म पैसा खाएका छैनन् । उनी प्रहरी खटाएर तस्करी रोक्न लागिपरेका छन् । तर, चन्दले भने आफू निकटका प्रहरी खटाएर असुली गरेका छन् ।



