१ जेठ , काठमाडौ । भारतको आसाम पुर्याई बालिका बेचबिखनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ की ३० वर्षीया अप्सरा भनिने एलिना खत्री छिन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी कृष्ण प्रसाद पंगेनीका अनुसार २०७९ कात्तिक २४ गते नुवाकोटबाट काठमाडौं बसमा आइरहेकी नाबालिकालाई नियोजित रुपमा भारतका कोठीमा पुर्याएर वेश्यावृत्तिमा लगाउने काममा खत्रीको संलग्नता पाइएको छ ।
बालिकालाई खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसाएर खुवाई बेहोस पारेर भारतको आसामस्थित कछर जिल्लाको सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्याई बेचबिखन गरी जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा खत्रीको संलग्नता पाइएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडित नाबालिकालाई नेपाल प्रहरी, भारतीय प्रहरी र माइती नेपालको सहयोगमा उद्धार गरिएको थियो । उद्धारपछि पीडित नाबालिकाले ब्यूरोमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएको र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा खत्रीलाई आइतबार पक्राउ गरी ब्यूरोले सोमबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान थालेको एसपी पंगेनीले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका क्रममा ती पीडित नाबालिकाको बेचबिखन तथा वेश्यावृत्तिमा नेपाली र भारतीय गरी ६ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । भारतको आसाम राज्यको कछर जिल्लाको सिल्चर भन्ने स्थानमा नेपालबाट युवतीहरुलाई झुक्याइ लगेर वेश्यालय संचालन गर्ने गरेको समेत पाइएको छ ।
खत्रीविरुद्ध २०७९ मंसिर १४ गते इलाका प्रहरी कार्यालय अनारमनी झापामा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो ।
नाबालिक बेचबिखन तथा वेश्यावृत्तिमा संलग्नको आरोपमा खत्रीका श्रीमान भारतीय नागरिक अजित साहमाथि पनि मुद्दा दर्ता भएको छ । उनी भने पुर्पक्षका लागि भद्रपुरमा थुनामा रहेको ब्यूरो प्रवक्ता एसपी पंगेनीले जानकारी दिए ।
नाबालिका बेचबिखनमा संलग्न अन्य फरार प्रतिवादीहरुको खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


