१६ मंसिर काठमाडौ । बूढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुम रामेछाप उमाकुण्ड गाउँपालिका–४ घरभई बालाजु बस्ने २७ वर्षीय रामबहादुर खत्री र कास्की लेखनाथ महानगर–१० घरभई बूढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् ।

प्रति लिटर ५ लाख रुपैयाँका दरले रक्तचन्दनको तेल अवैध कारोबार भई राखेको सूचनाको आधारमा बुधबार महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि रक्तचन्दनको तेलसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।
रक्तचन्दनको तेल भारतबाट नेपालगञ्ज हुँदै नेपाल भित्र्याई चीनतर्फ तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
महाशाखाले नै गतसाता काठमाडौं महानगर–८ तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको हो।






