२१ मंसिर, काठमाडौ । गत मंसिर १० र १२ गते चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको सपनामाथि भीम रावलले तातोपानी खन्याइदिएपछि ओली अहिलेसम्म रन्थनिएका छन् ।
उनी रन्थनिनुको एउटै कारण हो, भीम रावललाई मत दिने एमालेका प्रतिनिधि को–को हुन् रु यस विषयमा तीव्ररुपमा छानबिन हुँदैछ । रावललाई मत दिनेको नाम छानबिन भएपछि भविष्यमा ती नामलाई कुनै पनि जिम्मेवारी पदमा राखिने छैन, एमाले स्रोतले दृष्टिलाई बतायो ।
‘म निर्विकल्प छु’ भन्ने दम्भका साथ १०औं महाधिवेशनको तयारी गरिएको थियो । भाषा फरक बोले पनि महाधिवेशनको बन्दसत्रमा उनले ‘मसँग प्रतिस्पर्धा गर्न आउनेलाई टिन ठटाएर लखेट्छु’को शैलीमा आफूलाई पेश गरेका थिए । तर, लखेट्न चाहेका कुनै पनि उम्मेदवार लखेटिएनन् ।
बरु, चुनाव भयो, उनीहरु ओलीका आमनेसामने भए । यस्तो हुँदा आफू ‘निर्विकल्प’ बन्ने दम्भलाई हठका साथ चरितार्थ पार्ने उनको मनशायमाथि ठूलो प्रहार भयो । यसकारण ओली दोस्रोपटक अध्यक्ष भएर पनि झन् बढी दुःखी छन् ।
उनी निकटस्थ एक नेताले दृष्टिलाई बताएअनुसार, अहिले आफूलाई मतदान नगर्ने २२३ प्रतिनिधि पत्ता लगाउने निर्देशन दिएका छन् । ओलीले महाधिवेशनको निर्वाचन प्रमुखका रुपमा तोकेका डा। विजय सुब्बासहितका नेताहरुसँग भनेका छन् ‘ती प्रतिनिधिमध्ये ५० जनालाई भीम रावलका भित्रिया भनेर मानौँला, तर बाँकी १७३ को हुन् रु मलाई नाम चाहियो । तिनीहरु धमिरा हुन्, भित्रभित्रै घुसेका भष्मासुर हुन् ।’
महाधिवेशनपूर्व प्रतिनिधि छनोटका क्रममा देशव्यापी रुपमा चलाइएको एउटै अभियान थियो‘अध्यक्ष केपी ओली निर्विकल्प हो, बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा सबैको आकांक्षा समेटिन्छ ।’ त्यसैले जोजो, जहाँ–जहाँबाट प्रतिनिधि छानिए, तिनीहरुमाथि राखिएको मुख्य शर्त नै ‘केपी ओली निर्विकल्प अध्यक्ष’ भन्ने थियो ।








