२५ चैत , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष ९आइसियू०को उद्घाटन गर्नुभएको छ ।
अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उहाँले उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुग्नुभएको थियो ।
स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझैँ बढी मेरो जिम्मेवारी छ ।”
सोही अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गर्नुभयो ।
सो अस्पतालको २०२९ साल चैत २४ गते स्थापना भएको हो । जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल विसं २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ । अस्प्तालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।







