६ फागुन , काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ ।
आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे । त्यसपछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका थिए ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।