२८ साउन ,काठमाडौ । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् ।
कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ ।
विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा २ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेश राजधानी पोखरामा रहेको ५० शैयाको कोरोना विशेष अस्पतालमा बिरामीहरुलाई आइसीयू र भेन्टिलेटरकै अभाव हुन थालेको छ ।
कोरोना संक्रमितलाई लक्षित गर्दै पश्चिममाञ्चल क्षेत्रीय अस्पतालमा शुरु गरिएको अक्सिजन प्लान्ट जडान गर्ने काम अझै सकिएको छैन । अक्सिजन प्लान्ट जाडन गर्ने काम अन्तिम चरणमा पुगेको जनस्वास्थ्य अधिकृत आचार्यले जानकारी दिए ।
जिल्ला स्वास्थ्य प्रमुख आचार्यकाअनुसार पोखराकै संक्रामक रोग तथा सरुवा रोग अस्पतालमा उपकरणहरु जोड्ने काम भइरहेको छ ।
मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा संक्रमित बढ्दै गएका छन् । प्रदेशमै परीक्षणको ५० बढी संक्रमित भेटिएका छन् । प्र्रदेश स्वास्थ्य निर्देशनालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा १२ सय ६८ जनाको नमूना परीक्षण गर्दा ६ सय ५४ जनामा संक्रमण पुष्टी भएको छ ।
विहीबार तनहुँ जिल्लामा १ सय २ जनामा कोरोना पुष्टी हुँदा बाग्लुङ्मा ९७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै, नवलपरासीपूर्व ६३, स्याङ्जामा ५८, गोरखामा ३९, पर्वतमा २२, म्याग्दीमा १२ र लमजुङ्मा ६ जनामा विहीबार कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
कोभिशिल्डको दोस्रो डोज पाएनन्
विभिन्न देशहरुबाट कोरोना विरुद्धको खोप आउने क्रम जारी रहे पनि पहिलो खोप लगाएको महिनौं हुँदा पनि दोस्रो डोज खोप लगाउन अझै पाएका छैनन् ।
कास्कीमा कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएका ३२ हजार नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन् । कोभिशिल्ड खोप लगाएकालाई उनीहरुलाई दोस्रो डोज एक्स्ट्राजेनेका खोप लगाइने तयारी भइरहेको स्वास्थ्य प्रमुख आचार्यले बताए ।
भेरोसेल खोप लगाएका कतिपयले दोस्रो डोज लगाएर पूर्ण भइसक्दा कास्कीसहित प्रदेशका सबैजसो जिल्लामा महिनौं अघि कोभिशिल्ड खोप लगाएकाहरुले दोस्रो डोज पाएका छैनन्



