१७ भदौ , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीसँग एकताको प्रक्रिया भइरहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर जाने प्रयास समेत भइरहेको उनको भनाइ छ ।
शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ । त्यसका लागि नियमित छलफल भइरहेको छ।’
पार्टी एकताका लागि संयोजन समिति बनाउँदै उनले भने, ‘केही समयपछि एकताका लागि समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ साथै, गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने उनले बताए ।







