२८ जेठ, काठमाडौ । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको हो ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको र अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।