३ असार, काठमाडौ । झापाको मेचीनगरमा बुधबार एक जनाको हत्या भएको छ ।
मेचीनगर ५ इटाभट्टा निवासी करणकुमार लिम्बुका छोरा ४० बर्षीय भिमराज लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ साढे ८ बजे इटाभट्टा अधेरी टोलमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको भनी स्थानीयले सीमा प्रहरी चौकी नकलबन्दामा खबर गरेका थिए । इलाका प्रहरी चौकी काकरभिट्टाबाट प्रहरी नायब उपरीक्षकको टोलीले घटनास्थलमा गएर हेर्दा मृतकको घाटीमा कपडाको क्र्याक ब्यान्डेज बाधिएको र मुखबाट रगत बगेको अवस्थामा शव फेला पारेकाले अनुसन्धान अघि बढाएको थियो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिएको छ । सुकराजले आपसी झगडा हुँदा भिमराजको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि राती नै मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उनले बताए ।