
१९ मंसिर , काठमाडौ । रोल्पाकी ३२ वर्षीया ईश्वरी घर्ती र कञ्चनपुरकी ३२ वर्षीया कुमारी कमला बोहरा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटीमा प्रवेश गर्ने कान्छा सदस्य हुन् । जिल्ला र प्रदेश कमिटीमा बसेर काम गरेकी घर्ती जनजाति कोटाबाट र बोहरा सुदूरपश्चिम प्रदेशको खुला महिलाबाट केन्द्रीय सदस्य बनेका हुन् ।

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट ७० वर्षे उमेरहदका कारण अमृत बोहरा, महेन्द्रबहादुर पाण्डे, सत्यनारायण मण्डललगायत नेता बिदा भइरहँदा नयाँ केन्द्रीय कमिटीमा घर्ती र बोहराजस्तै विभिन्न क्लस्टर र खुला कोटाबाट ४० वर्षभित्रका दर्जन युवाले प्रवेश पाएका छन् ।

विधानले प्रतिस्पर्धाबाट केन्द्रीय कमिटी निर्वाचित हुने परिकल्पना गरे पनि पार्टी नेतृत्वले सर्वसम्मति गर्न भन्दै आफैं कमिटी छनोट गरेको थियो । नेतृत्वको छनोटमा परेर आएका युवाले भोलि पार्टीमा कस्तो भूमिका पूरा गर्लान् रु दसबुँदे सहमति पक्षधर निकट मानिने उषाकिरण तिमल्सेना अहिले केन्द्रीय कमिटीमा प्रवेश गरेका सीमित युवाले हस्तक्षेपकारी भूमिका खेल्नेमा शंका व्यक्त गर्छिन् । केन्द्रीय कमिटीमा युवाको संख्यासँगै भूमिका पनि महत्त्वपूर्ण हुने उनी ठान्छिन् ।
‘विधानले प्रतिस्पर्धाबाट केन्द्रीय कमिटी निर्वाचित हुने परिकल्पना गरेको छ, त्यसैअनुसार स्वतन्त्र निर्वाचन हुन दिएको भए धेरै युवा आउँथे, अहिले त संस्थापन पक्षले कसलाई ल्याउने भन्ने मात्रै भयो, अहिले आएको संख्याबाट मात्रै खुसी हुने ठाउँ छैन,’ खुला महिलाबाट केन्द्रीय सदस्य चयन भएकी ३८ वर्षीया तिमल्सेनाले भनिन्, ‘अहिले आएका धेरै युवा अध्यक्षकै एसम्यान छन् । बा भन्नेहरू आएका छन् । उनीहरू युवा भएर आए कि संस्थापनको एसम्यान भएर भित्रिए भन्ने मुख्य प्रश्न हो । एसम्यान भएर आएकाले हस्तक्षेपकारी भूमिका खेल्दैनन् जस्तो लाग्छ ।’ पाका नेतासमेत नपरेका बेला जे–जति युवा आएका छन्, यसलाई भने सकारात्मक रूपमा लिनुपर्ने उनको बुझाइ छ । विद्यार्थी राजनीतिबाट आएकी तिमल्सेना सर्वसम्मतिका लागि ओलीले पेस गरेको सूचीमा परेकी थिइनन् । सूचीमा परेकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्




