२६ मंसिर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. ४ स्थित सेक्रेड हार्ट विद्यालयको फुटसल ग्राउण्डमा आजदेखि ओप्स इन्टर स्कुल फुटसल टुर्नामेन्ट २०७८ शुरु भएको छ ।

काठमाडौं जिल्ला भित्रका १६ ओटा ए ग्रेडका स्कुलले फुटसलमा प्रतिस्पर्धा गर्दैछन् । आजको पहिलो खेलमा गिनिज स्कुल र मनास्लुका विद्यार्थीहरुले उद्घाटन कार्यक्रममा खेल प्रस्तुत गरेका थिए ।

आज बागमती प्रदेश खेलकुद परिषदका उपाध्यक्ष हिक्मत थपलियाले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । बल हस्तान्तरण भन्दा अगाडीको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने स्थल नै विद्यालय भएको बताएका छन् ।

त्यसकारण भोलीका बैकुण्ठ मानन्धर, दिपक विष्टहरु यहिँका बच्चाहरु हुन् । बच्चाहरु पढेर मात्र हुँदैन । आज कुलतमा लागेर फसेका बालबालिकाहरु धेरै छन् । त्यसकारण अभिभावकहरुले बच्चाहरुलाई खलकुदका क्षेत्रमा समावेश गराउन आवश्यक छ ।

त्यस्तै कार्यक्रममा बोल्दै ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले ओप्सले कोरोना महामारीको बीचमा पनि विभिन्न इसिएका गतिविधीहरुलाई अनलाइनबाट सञ्चालन गर्दै आइरहेको अवस्थामा अहिले समय अनुकुल भएकाले भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर फुटसल कार्यक्रमको आयोजना गरेको बताउनुभयो । खड्काले कार्यक्रम संयोजन विद्यालय सेक्रेड हार्ट विद्यालय परिवारलाई धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा फुटसल कार्यक्रममा सहभागी विद्यालयका प्रिन्सिपल र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।





